श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको ३ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत सेप्टेम्बर महिनाको १९ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन शुक्लपक्षको द्वितीया तिथि दिवा १२।२४ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । हस्ता नक्षत्र विहान ७।५३ बजेसम्म रहनेछन् । यसैगरी आज ब्रह्म योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ५।५१ मा छ भने सूर्यास्त बेलुका ६।२ बजे हुनेछ । चन्द्रमा आज कन्या राशिमा रहेका छन् ।
आजबाट बिहान ५।६ देखि दिवा ४।२२ बजेसम्म द्विपुष्कर योग रहनेछ । द्विपुष्कर योगको समयमा मृत्यु, विना र वृद्धि भए दुईगुणा फल दिने हुन्छ । यसैले तत् समयमा अनिष्ट कार्य भए शान्ति गर्नुपर्ने शास्त्रीय विधान पाइन्छ ।
यसैगरी आज सम्विधान दिवस पनि परेको छ । असोज ३ गते नेपालको सम्विधान जारी भएको उपलक्षमा सम्विधान दिवस भव्यरूपमा मनाइन्छ ।
उपप्राध्यापक नारायणप्रसादनिरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment