श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल पौष महिनाको २५ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जनवरी महिनाको ९ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत पौष कृष्णपक्षको एकादशी तिथि बेलुका ५।४८ बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । विशाखा नक्षत्र दिवा ११।३५ बजेसम्म रहनेछन् । यसैगरी आज शूल योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।२४ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा रहेका छन् ।
आज सफला एकादशीव्रत परेको छ । पौष कृष्णपक्षको एकादशीलाई सफलता भनिन्छ । कार्यमा सफलता प्राप्तिका निम्ति उत्तम उपायका रूपमा सफला एकादशीलाई लिइन्छ । परम पवित्र सफला एकादशीको व्रतधारण गर्दछन् त्यस्ता व्यक्तिलाई इहलोकमा सफलता मिल्नुका साथै परलोकमा पनि मुक्ति प्राप्त हुने गर्दछ । यसका साथै पाँचहजार वर्ष तपस्या गरे बराबरको फल सफलता एकादशीको व्रत धारण गर्नाले प्राप्त हुने गर्दछ । यसरी एकादशीको व्रत धारण गर्नाले सम्पूर्ण पाप नष्ट भएर जान्छन् । यसैगरी सम्पूर्ण तीर्थमा स्नान गरे बराबरको फल एकादशी व्रत धारण गर्नाले प्राप्त हुन्छ ।
सफला एकादशीमा विशेष नरिवल आदि प्राप्त ऋतुफलहरू अर्पण गर्नुपर्ने व्रत विधान गरिएको छ । व्रत लिनुभन्दा अघिल्लै दिनदेखि आहार एवं व्यवहारमा पवित्र रहनुपर्दछ । दशमी, एकादशी र द्वादशीका दिन विशेष पवित्र रहनु भनिएको छ । एकादशीका दिन प्रातः नदी तलाउ वा पवित्र स्थानमा गई विधिपूर्वक स्नान गरी पूजा सामगी सम्पादन पश्चात् दीप, कलश, गणेशजीको आवहन पूजनपूर्वक लक्ष्मीनारायण भगवान्को पाद्य, अर्घ, अचमन, स्नान पूर्वक षोडशोपचारले पूजा गर्नुपर्दछ । व्रत अवधिमा विष्णु सहस्रनाम एवं विष्णु स्तोत्रको पाठ शुभ रहन्छन् । यसैगरी व्रतमा काम, क्रोध, लोभ, मोह र मात्सर्य भाने त्याज्य रहन्छन् । दिउँसो सुत्ने, अरुले दिएको खाने, दोहो¥याएर खाने, मैथुनादि समागम गर्ने, मह, माछामासु, काँसको भाँडामा खाने, तेल लगाउने जस्ता कार्य त्याग्नुपर्दछ । मनमा पवित्र भावनाका साथ गरिएको व्रत धारण फलदायी हुन्छ ।
एकादशी माहात्म्य सुन्नाले मात्र सहस्र गोदान गरेबराबरको पुण्यफल प्राप्त हुन्छ । उपवास गर्न असमर्थ व्यक्तिले पनि एकादशीका दिन कमसेकम अन्नको परित्याग गर्नुपर्छ भनिएको छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment