आज फागुपूर्णिमा, महिमासहित हेर्नुहोस् आजको दिन २०७७ चैत्र १५ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Mar 27, 2021

आज फागुपूर्णिमा, महिमासहित हेर्नुहोस् आजको दिन २०७७ चैत्र १५ गते





श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल, चैत्र महिनाको १५ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत मार्च महिनाको २८ तारिख, आइतवार  हो ।  सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत फाल्गुन शुक्लपक्षको पूर्णिमा तिथि राति १।९  बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । उत्तराफाल्गुनी नक्षत्र बेलुका ६।८  बजेसम्म रहनेछन् । यसैगरी आज  वृद्धि योग र  भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ६।१ मा छ भने सूर्यास्त बेलुका ६।१९ बजे हुनेछ । चन्द्रमा आज कन्या राशिमा रहेका  छन् ।  

आज फागुपूर्णिमा पर्व हो । यसैगरी पूर्णिमाव्रत पनि आजै परेको छ । फाल्गुन शुक्लपक्षको पूर्णिमालाई होलीपर्वका रूपमा पनि मनाउने गरिन्छ । होलिको पौराणिक प्रसङ्ग स्मरणीय छ । प्रह्राद चरित्र नै होली मनाउने प्रमुख आधार हो । धर्मको जीत र अधर्मको हार भएको प्रसङ्ग होलीको आरम्भ विन्दु हो । हिरण्यकशिपु राक्षसकुलको प्रभावशाली राजा थियो । ऊ आफैँलाई भगवान घोषणा गरेर हिँड्ने गर्दथ्यो । त्यो राज्यमा कोही भगवान वा ईश्वर भए केवल हिरण्यकशिपुमात्र छ, अतः उसैको पूजा अर्चना गर्नुपर्छ भन्ने निरङ्कुश शासन चलाइएको थियो । समयक्रम वित्दै जाँदा आफ्नै कुलमा जन्मिएका छोरा प्रह्रादले हिरण्यकशिपुको देवत्व स्वीकार गरेनन् । उक्त दानवीय अहंकारलाई स्वीकार नगरेकाले प्रह्रादलाई निकै नै संझाउने बुझाउने यत्न गरियो । जतिससुकै दानवीय शिक्षा प्रदान गरे पनि जन्मजात भगवत्भक्तिले भरिपूर्ण प्रह्रादमा परिवर्तनका पालुवा पलाएनन् । फलतः प्रह्रादद्वारा हिरण्यकशिपुलाई भगवान स्वीकार गरिएन । 

प्रह्रादको भगवत् भक्तिबाट चिडिएको हिरण्यकशिपु आफ्नै पुत्रलाई अनेकौ दण्ड सजाय दिन थाल्छ । जति गरे पनि जतिसुकै यातनाका परीक्षामा पनि प्रह्रादको भगवद्भक्ति निश्चल रहन्छ । बरु उल्टै प्रह्रादले भगवान विष्णुका लीला चरित्रगान गर्न सबैलाई अभिप्रेरित  गर्न थाल्छन् । पछि हिरण्यकशिपुद्वारा प्रह्रादलाई वन्दी बनाईयो । र पनि विचारमा कुनै परिवर्तन आएन । निकै यत्नहरू विफल भएपछि अन्न्ततः प्रह्रादलाई मृत्युदण्डको सजाय सुनाईयो । प्रह्रादलाई सो मृत्युदण्ड पनि सहज स्वीकार्य भयो तर हिरण्यकशिपुलाई ईश्वरमान्ने कुरा स्वीकार भएन । सारा प्रयास विफल भएपछि प्रह्रादलाई भीरबाट लडाइयो । अपट्टे भीरका टुप्पाबाट खसाएपछि बाँच्ने कुनै सम्भावना रहँदैन भनेर सबैले प्रह्रादको मृत्यु निश्चय गरे । तर प्रह्राद उक्त भीरबाट खसाइदा पनि जीवित नै रहे । 

सारा उपाय प्रयोगगर्दा पनि प्रह्रादको अन्त्य हुन नसकेपछि हिरण्यकशिपुमा निकै चिन्तन मन्थन भयो ।  हिरण्यकशिपुकी छोरी अर्थात् प्रह्रादकी दिदी सिंहकिालाई अग्निमा नजल्ने वरदान मिलेको थियो । त्यही प्रयोग गरेर प्रह्रहादलाई जलाउने दुष्कृत्यको आरम्भ गरियो । सिंहिकाले प्रह्रादलाई काखमा राखेर अग्निमा प्रवेश गरिन् । दुवै अग्निमा प्रविष्ट भए पनि अग्निका ज्वालाले सिंहकिालाई नै जलाउन थाल्यो, प्रह्रादलाई केही भएन । खाल्टो निकै ठुलो खनेको र त्यहँबाट प्रह्राद भग्छन् भनेर निकै असजिलो बनाइएकाले  सिंहकिा पनि भाग्न सकिन । अन्ततः सिंहिका त्यहीँ भस्म भई । प्रह्रादमा भगवत् कृपा भएकाले जस्ताको त्यस्तै रहे । 

यही घटना पछि असत्यको पराजय र सत्यको विजय स्वरुप एक आपसमा रङ दलेर हर्षेल्लासको होली पर्व मनाउन थालिएको हो । होलिका तिनै सिंहिकाको अर्को नाम हो ।  आफ्नै भाइलाई मार्न उद्यत दिदीको कठोर हृदयको अन्त्य भएको उक्त घटना फाल्गुन पूर्णिमाकै दिन घटेकाले फागुन शुक्लपूर्णिमालाई विशेष रूपमा मनाउन थालिएको हो ।

स्थान विशेषमा होली मनाउने आआफ्नै चलन रहेका छन् ।  परापूर्वकालदेखि नै होली पर्व मनाउन थालेको इतिहास पाइन्छ । स्थनीय भेद होलीका भिन्न भिन्न छन् । कतै पूर्णिमा लागेसँगै होली मनाइन्छ त कतै पूर्णिमा सकिए पछि होली भव्य रूपमा मनाइन्छ । पौराणिक आधारलाई हेर्ने हो भने पूर्णिमाको समापनसँगै होलिका दहन भएकाले त्यसपछि मनाउनु उपयुुक्त देखिन्छ ।

नेपालका तराई क्षेत्रमा होलिपूर्णिमाको समापन सँगै पर्व मनाइन्छ भने पाहाडी क्षेत्रमा पूर्णिमाको प्रारम्भसँगै मनाउने गरिन्छ । सत्यको विजयोल्लासलाई मनाउने धार्मिक एवं साँकृतिक पर्व आज विकृतिको वादलमा मडारिरहेको छ  । पर्वका धार्मिक साँस्कृतिक र ऐतिहासिक पृष्ठभूमिलाई उजागर नगरी पर्व मनाउने आजको यो परम्पराले भोलि सही गति लिन गाह्रो हुन्छ । विकृतिले संस्कृति विगार्ने हुँदा होलीलाई सभ्य र भव्य रूपमा मनाउनु आवश्यक देखिन्छ । 

  उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment