श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल, फागुन महिनाको २५ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत मार्च महिनाको ९ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत फागुन कृष्णपक्षको एकादशी तिथि बेलुका ४।२१ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । उत्तराषाढा नक्षत्र राति ९।५७ बजेसम्म रहनेछन् । यसैगरी आज वरियन योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ६।२२ मा छ भने सूर्यास्त बेलुका ६।८ बजे हुनेछ । चन्द्रमा आज मकर राशिमा रहेका छन् ।
आज विजया एकादशीव्रत परेको छ । फाल्गुन कृष्णपक्षको एकादशीलाई विजया भनिन्छ । कार्यमा सफलता प्राप्त हुने भएकाले यो एकादशीलाई विजया भनिएको हो । व्रतकर्ताको कामना पूर्ण हुने, कार्यमा सफलता प्राप्त हुने कुरा एकादशीमाहात्म्यमा यसरी उल्लेख गरिएको छ ः
कथयिष्यामि राजेन्द्र कृष्णे या फाल्गुने भवेत् । विजयेति च सा प्रोक्ता कर्तृृणां जयदा सदा ।। (भविष्योत्तरपुराण, एकादशीमाहात्म्य ७।२)
सम्पूर्ण पापलाई नाश गरी पवित्रता प्रदान गर्ने विजय एकादशीले निश्चय नै विजय प्रदान गर्दछिन् भनेर एकादशीममाहात्म्यमा यसरी उल्लेख गरिएको छ ः
पुरातनं व्रतं ह्येतत् पवित्रं पापनाशनम् । यन्न कस्यचिदाख्यातं मयैतद् विजयव्रतम् ।
जयं ददाति विजया नृणां चैव न संशयः । ( भविष्योत्तरपुराण, एकादशीमाहात्म्य अध्याय ७ श्लो ६–७)
विजया एकादशीको व्रतमहिमा नारद र ब्रहमाजीको संवादमा आधारित छ । जुन कुरा श्रीकृष्ण भगवान्ले राजा युधिष्ठिलाई उल्लेख गर्नुभएको पाइन्छ ।
यो व्रतकथा त्रता युगकको हो । सीता मातालाई रावणले हरण गरिसकेपछि लङ्कामा नपुगी माता सीताको उद्धार गर्न सकिने स्थिति रहेन । ठूलो समुद्र पार गरेरमात्र लङ्का पुग्न सकिन्थ्यो । जलजन्तुको पनि उत्तिकै भय रहने भएकाले कुनै उपाय खोज्न लक्ष्मणजीलाई श्रीरामले आग्रह गर्नुभयो । यसरी भगवान्को जिज्ञासालाई शान्त पार्दै लक्ष्मणजीले बताउनुभयो – यहाँबाट आधा योजन टाढा पर परं ज्ञानी वकदालभ्य मुनिको आश्रम छ, हामीले ऋषिसँगै यस समस्याको हल खोज्नुपर्छ । सोपश्चात् भगवान श्रीराम लक्ष्मण समेत वकदाल्भ्य मुनिको आश्रममा पुग्नुभयो र ऋषिलाई प्रणाम गरेर आफ्ना समस्या पनि राख्नुभयो ।
सम्पूर्ण समस्या सुनिसकेपछि ऋषिमुनिले आज्ञा गर्नुभयो –
फाल्गुनस्याऽसिते पक्षे विजयैकादशी भवेत् । तस्या व्रते कृते राम विजयस्ते भविष्यते ।।२७।।
हे राम ! हजुर आफ्ना सेना समेत भएर फाल्गुन कृष्णपक्षको एकादशीको व्रत लिनुहोस् । यस एकादशीको व्रतको प्रभावले हजुरले निश्चितरूपमा समुद्र तरेर रावणलाई पराजित गर्नु हुनेछ ।
भगवान् श्रीरामले मुनिको निर्देशनबमोजिम सबैले एकादशीको व्रत लिनुभयो । यसै व्रतको प्रभावले राम लेखेका ढुङ्गा समुद्रमा तैरिनथाले र लंकासम्मको पुल निर्माण भयो । सो पश्चात् रावणसँग घनघोर युद्ध भयो अन्ततः भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गर्नु भयो । यसरी विजय प्राप्त गर्नुको पछाडि एकादशीव्रतको विशेष प्रभाव रहेको छ ।
व्रतविधि ः
दशमीका दिनदेखि नै पवित्र रहनुपर्दछ । एक सुन्दर घडा तयार गरी सिँगारेर जल भरी उक्त कलशमाथि पूर्वपात्र राखी उक्त पूर्णपात्रमाथि विष्णुभगवान्को सुनको प्रतिमा स्थापना गरी पवित्र स्थानमा राख्नुपर्दछ । भोलिपल्ट एकादशीका दिन प्रातः स्नान, सन्ध्याबन्धनादि सकेर दीप, कलश गणेजीको स्थापना गर्नुपर्दछ । अघिल्लो दिन स्थापना गरिएको घडा एवं भगवान्को प्रतिमामा पाद्य, अर्घ, चन्दन, अक्षता, पुष्प, फल, आदि षोडशोपचारले पूजा गर्नुपर्दछ । यसपछि दिनभर भगवान्का नामसंकीर्तन गरी रात्रिमा जागरण रहनु भनिएको छ । भोलिपल्ट द्वादशीका दिन प्रातः स्नानादि कार्य गरी योग्य ब्राह्मणलाई प्रतिमासहित घडा दान गर्नुपर्दछ । सो पश्चात् ब्राह्मण भोजन गराई आफूले पनि भोजन गरुी व्रत सम्पन्न हुने गर्दछ । यही विधिअनुसार भगवान् श्रीरामले पनि यो व्रत धारण गरेकाले लङ्का माथि सहजतः जित प्राप्त भएको थियो ।
नाम अनुसार र नै फल प्रदान गर्ने विजया एकादशीको व्रत महिमा रहेको छ । कार्यमा सफलता प्राप्तिका निम्ति विजया एकादशीको व्रत धारण उत्तम मानिएको छ । विजया एकादशीको व्रत जसले धारण गर्दछन् ती व्यक्तिले आफ्ना कार्यमा सिद्धिका साथै विजय पनि प्राप्त गर्दछन् भनी पद्म पुराणमा कथा वर्णन गरिएको छ । यसका साथै एकादशीको व्रतकथा सुन्नाले सुनाउनाले पनि अश्वमेध यज्ञ गरेवरावरको फल प्राप्त हुने कुरा पुराणमा उल्लेख पाइन्छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment