श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल ज्येष्ठ महिनाको ७ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत मे महिनाको २२ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत वैशाख शुक्लपक्षको एकादशी तिथि राति २।४६ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति कुम्भ राशिमा रहेका छन् । उत्तराफाल्गुनी नक्षत्र बिहान १०।१२ बजेसम्म रहनेछन् । यसैगरी आज वज्र योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ५।१४ मा छ भने सूर्यास्त बेलुका ६।४९ बजे हुनेछ । चन्द्रमा आज कन्या राशिमा छन् ।
आज स्मार्तको मोहिनी एकादशीव्रत रहेको छ । वैष्णका निम्ति भने भोलि एकादशव्रित रहनेछ । वैशाख शुक्लपक्षको एकादशीलाई मोहिनी भनिन्छ । मोहिनी एकादशीको व्रत धारण गर्नाले मोहका साथै पापजालबाट पनि मुुक्ति मिल्ने फल वर्णन पाइन्छ । एकादशी भगवान्को उपासना गर्ने उत्तम दिन हो । सम्पूर्ण पपकर्म नष्टभई पुण्य फलिभूत हुने एकादशीको व्रत धारण गर्नाले इह लोकको भुक्तिका साथै परलोकमा पनि मुक्ति प्राप्त हुने फल वर्णन पाइन्छ । यसैगरी एकादशीको व्रततकथा श्रवण गर्नाले पनि सम्पूर्ण पाप नष्ट भएर जान्छन् भनी एकादशी माहात्म्यमा उल्लेख गरिएको छ ।
विशेषगरी मोहबाट छुट्कारा दिलाउने भएकाले मोहिनी नाम रहन गएको हो । भगवान् श्रीकृष्णले राजा युधिष्ठिरको जिज्ञासा समाधान गर्ने प्रसङ्गमा मोहिनी एकादशीको व्रतकथा वर्णन गर्नुभएको छ ।
यसरी सम्पूर्ण शोक र मोहबाट मुक्तिदिने एकादशीको महिमा अपरम्पार रहेको छ । विधिपूर्वक भगवान्को आराधना गरी धारण गरिएको व्रतले अनैतिक पापकर्मबाट पनि मुक्ति मिल्ने फल वर्णन गरिएको छ ।
No comments:
Post a Comment