आज अपरा एकादशीव्रत, महिमा सहित आजको दिन २०७८ ज्येष्ठ २३ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jun 5, 2021

आज अपरा एकादशीव्रत, महिमा सहित आजको दिन २०७८ ज्येष्ठ २३ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल ज्येष्ठ महिनाको २३ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जुन महिनाको ६ तारिख, आइतवार हो ।  सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।

 सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठ कृष्णपक्षको एकादशी तिथि बिहान ८।३  बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति कुम्भ राशिमा रहेका छन् । अश्विनी नक्षत्र राति ३।५८ बजेसम्म रहनेछन् । यसैगरी आज सौभाग्य योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ५।१० मा छ भने सूर्यास्त बेलुका ६।५६ बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा छन् ।   

आज  अपरा एकादशीव्रत परेको छ । ज्येष्ठ कृष्णपक्षको एकादशीलाई अपरा एकादशी भनिन्छ । अपार फल प्रदान गर्ने भएकाले अपरा नाम रहन गएको हो । अपराको अर्थ  पनि अनन्त या सीमा नभएको भन्ने हुन्छ । यस एकादशीको व्रत गर्नाले अनन्तफल प्राप्त हुने गर्दछ । अपरा एकादशीलाई अचलाको नामले पनि सम्बोधन गरिन्छ । 

 समस्ताप पापबाट मुक्ति दिलाउने एकादशीको महिमा विशेष रहेको छ । राजा युधिष्ठिरको जिज्ञासा समाधान गर्दै भगवान् श्रीकृष्णले अपरा एकादशीको माहात्म्य वर्णन गरेको प्रसङ्ग भविष्योत्तर पुराणमा पाइन्छ । 

साधु पृष्टं त्वया राजन् लोकालनां हितकाम्यया । बहुपुण्यप्रदा ह्येषा महापातकनाशिनी ।।२।।

अपरा नाम राजेन्द्र अपारफलदायिनी । लोके प्रसिद्धतां याति अपरां यस्तु सेवते ।।३।।

अर्थात् अपरा एकादशीको व्रत धारण गर्नाले अपार पुण्यप्रापत हुने गर्दछ । कार्तिक महिनामा पुस्कर क्षेत्रमा दैनिक तीन पटक स्नानका  साथै माघमा प्रयाग क्षेत्रमा स्नान गर्दा जुन फल प्राप्त हुन्छ त्यो फल अपरा एकादशीको व्रत धारणले मिल्ने गर्दछ । यसैगरी गयामा पितृलाई पिण्ड दान गरेबराबरको पुण्य फल प्रदान गर्ने अपराएकादशीले  सिंह राशिमा बृहस्पति प्रवेश गर्दा गौतम नदीमा पवित्र स्नान एवं केदार नाथमा शिवको दर्शन गरे बराबरको फल प्रदान गर्दछिन् । 

जुन फल कुम्भ स्नान गरेर प्राप्त हुन्छ, जुुन फल वदरीनाथ आदि तीर्थ यात्रा गरेर प्राप्त हुन्छ त्यो फल अपरा एकादशीको व्रत धारणले मिल्ने गर्दछ । यसैगरी सूर्यग्रहणका वेला कुरुक्षेत्रमा गई हात्ती, घोडा, सुन दान गरेबराबरको फल प्रदान गर्ने एकमात्र एकादशी अपरा हुन् । 

यसैगरी भूमि दान गरबराबरको फल पनि अपरा एकादशीको व्रतधारणले मिल्ने गर्दछ । पापरूपी वृक्षलाई काट्न अपरा एकादशी सक्षम वञ्चरो हो  । यसैगरी यी एकादशीले पापरूपी दाउरालाई पनि सहसा जलाउने गर्दछिन् ।  

 नरस्तत् फलमाप्नोति अपराव्रतसेवनात् । पापद्रुमकुठारोऽयं पापेन्धनदवानलः।।१६।।

जसरी सूर्यले अन्धकारलाई नष्ट गरी उज्यालो ज्योति प्रदान गर्दछन्, त्यसैगरी पापरूपी अन्धकारलाई नष्ट गरी दिव्य ज्योति प्रदान गर्ने एकादशी अपरा हुन् । 

 कथा

भारतवर्षमा एक महीध्वज नामका धर्मात्मा राजा थिए । राजाको कान्छा भाईको नाम थियो व्रजध्वज । उनी आफ्ना दाजुसँग सदा द्वेष राख्दथ्ये । एक दिन विशेष मौका छोपी आफ्ना दाजु महीध्वजको उनले हत्या गरी  जंगलमा एक पीपलको रूखमुनी गाढिदिए । अकाल मृत्यु भएका कारण राजाको आत्मा प्रेत बनेर पीपलमा रहन लाग्यो । बाटो हिड्ने हर व्यक्तिलाई आत्माले दुःख दिन थाल्यो ।

 एक दिन धौम्य ऋषि यही बाटो भएर गइरहेका थिए । बाटो उक्त प्रेतले तर्सायो । ऋषिले आफ्नो  ध्यानदृष्टि लगाई हेरे र उक्त तसांउने प्रेत भई हिँडिरहेको थाह पाए । 

यसपछि ऋषिले पीपलको रुखबाट राजाको प्रेतात्मालाई जमिनमा बोलाए र परलोक विद्याको उपदेश दिए । राजालाई प्रेत योनीबाट मुक्ति दिलाउनको लागी ऋषिले स्वयं अपरा एकादशीको व्रत राखे र द्वादशीका दिन व्रत पूरा भए पछि व्रतको पुण्य प्रेतलाई प्दान गरे । यसरी अपरा एकादशी व्रतको प्रभावले उक्त महीध्वज  राजा प्रेतयोनीबाट मुक्त भए र स्वर्गमा गएका थिए । 

फल 

अपरा एकादशीको व्रतले प्रेतत्व योनिबाट मुक्ति मिल्ने गर्दछ । यसैगरी गौहत्या, ब्राह्मण हत्या, भ्रूणहत्या या परस्त्रीगमन जस्ता महापाप पनि यस एकादशीको व्रतका प्रभावले नाश भएर जान्छन् । यस दिन व्रत धारण गर्नाले यो लोकको भुक्तिका साथै परलोकमा पनि मुक्ति मिल्ने गर्दछ । यसैगरी एकादशी माहात्म्य पाठ गर्नाले, पाठ गर्न नसके सुन्नाले पनि सम्पूर्ण पाप नष्ट भई परं पद प्राप्त हुने गर्दछ : 

 पठनाच्छ«वणद्राजन् सर्वपापैः प्रमुच्यते । इहलोके सुखं भुक्त्वा मृत्वा सत्यपुरे वसेत् ।।२०।।

अर्थात् एकादशीको महिमा पाठ गर्नुपर्दछ । पाठ गर्न सकिएन भने सुन्नाले पनि जीवनमा सुख सम्पत्ति प्राप्त हुनुका साथै परलोक पनि सफल रहने गर्दछ । 


व्रत विधि एवं पूजा

 बिहान उठेर सूर्योदय अगावै स्नान गर्र्नुपर्दछ । पूजा सामग्री सम्पादन गरी दीप, कलश गणेशजीको पूजा पश्चात् त्रिविक्रम भगवान्को षोडशोपचार (पाद्य, अर्ध, आचमनी, स्नान, पञ्चामृत, चन्दन, अक्षता,पुष्प, फल, नैवेद्य आदिले) पूजा गर्नुपर्दछ ।  सो पश्चात् धुप वात्ती एवं आरती गरी भगवान्को नामसंकीर्तन एवं विष्णुसहस्रनामका साथै श्रीमद्भागवत पाठ पनि शुभ फलदायी रहन्छ । 

यसैगरी सन्ध्यामा आरती गर्नुपर्दछ । भोलिप्ट स्नान गरी पूर्णपात्र दानका साथै ब्राह्मण भोजन गराई आफूले पनि भोजन गर्नुपर्दछ । यसरी गरिएको एकादशीव्रत पूर्ण फलदायी रहन्छ ।  

अपरां समुपोष्यैव पूजयित्वा त्रिविक्रमम् ।।१८।।

सर्वपापविनिमुक्तो विष्णुलोकं व्रजेन्नरः ।।

अर्थात् अपरा एकादशीका दिन त्रिविक्रम भगवान्को विधिवत् पूजा एवं आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भएर उत्तमलोक प्राप्त हुने गर्दछ । 

निष्कर्ष 

एकादशी आफूमै एक पवित्र समय हो । चान्द्र महिनाको एघारौँ दिनलाई एकादशी भनिन्छ । ज्येष्ठ कृष्णपक्षमा आउने एकादशीको नाम अपरा हो । जसको व्रत धारण गर्नाले अपार पुण्य प्राप्त हुने गर्दछ । यो लोकमा भए गरेका सम्पूर्ण पाप नष्ट भई उत्तम गति प्रदान गर्ने अपरा एकादशीको महिमा रहेको  छ । 

व्रत आफूमै पवित्रताको प्रतीको हो । व्रतमा हिंसा, परनिन्दा, द्वेष एवं अहंकार त्याज्य मानिन्छन् । भगवान्को सेवा, सत् धर्मको पालना, परोपकारका साथै मिताहार यो समयमा उपयुक्त मानिन्छ ।  मनलाई पवित्र बनाई भगवान्को भक्तिमा समर्पित गर्न सकियो भने नै एकादशीव्रतको पनि सार्थक बन्दछ । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य

No comments:

Post a Comment