नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
दशैँ अर्थात् नवरात्रमा दुर्गासप्तशती पाठको विशेष विधान गरिएको छ । नवरात्र भगवतीका प्रिय समय हुन् । यस समयमा भगवतीको उपासना कार्यसिद्धिदायी हुने गर्दछन् । शक्तिस्वरूपा भगवतीको उपासनाले समस्त मनोकामना पूर्ण हुने भएकाले पनि आफ्नो मनोकामना सिद्धिका निम्ति दुर्गासप्तशती(चण्डी) पाठ गर्ने शास्त्रीय पद्धति रहेको छ । भगवतीलाई प्रसन्न गराउन नै पाठ गर्ने विधान धर्मसिन्धुमा बताइएको छ ।
दुर्गा सप्तशती (चण्डी) भनेको के हो ?
भगवती दुर्गा देवीका सातसय मन्त्रले स्तुति गरिएको संग्रह दुर्गासप्तशती हो । जहाँ सातसय मन्त्र रहेका छन् । मार्कण्डेय पुराणको सावर्णि मन्वन्तरको कथाप्रसङ्गबाट लिइएको हो । नेपाली परम्परामा यसलाई चण्डी भन्ने पनि चलन रहेको छ । चण्डी पनि भगवतीकै एक नाम हो । यसैगरी देव्याकवच, अर्गालास्तोत्र, कीलक पनि दुर्गासप्तशती पाठका अङ्ग हुन् । यसैगरी भगवतीको प्राधानिक, वैकृतिक र मूर्ति रहस्य पनि सप्तशती पाठका परिपूरक हुन् । यसैगरी दुर्गासप्तशती पाठकै अङ्गगका रूपमा न्यास, ध्यान एवं जपपनि पर्नेगर्दछन् ।
कामना अनुसार पाठको विधान
दुर्गासप्तशती काना अनुसार विभिन्न प्कारले पाठ गर्ने विधान रहेको छ । अध्ययाय नपुगी पाठ विराम गर्नुहुँदैन । यदि विराइयो भने पुनः अध्याय नै पाठ गर्नुपर्दछः अध्यायं प्राप्य विरमेन्न तु मध्ये कदाचन । कृते विरामे मध्ये तु अध्यायादि पठेत्पुनः ।।(धर्मसिन्धु, द्वितीयपरिच्छेद, पृ. ८०) । शुद्ध स्पष्टसँग मन्द गतिमा रसिलो स्वरले पाठ गर्नुपर्दछ - ग्रन्थार्थं बुध्यमानः स्पष्टाक्षरं नातिशीघ्रं नातिमन्दं रसभावस्वरयुतं वाचयेत् ।। (धर्मसिन्धु) । अर्थात् पाठ गर्दा अर्थ बुझिने हुनुपर्दछ ।
धर्म, अर्थ र कामना सिद्धिका निम्ति दुर्गासप्तशतीको पाठ विधान गरिएको छ । राेगसम्बन्धी विकारको शान्तिका लागि तीनपटक चण्डी पाठ गर्नुपर्दछ । ग्रहपीण शान्तिका निम्ति पाँच पाठ, महाभयबाट शान्तिका निम्ति सात पाठ, वाजपेय यज्ञको फल प्राप्तिका निम्ति नौपाठ, शत्रनाशका निम्ति बाह्र पाठ, धनद्वारा सुख प्राप्तिका लागि पन्ध्रपाठ, छोरानातिको धनधान्य सम्पन्नताका निम्ति सोह्र पाठ, राजभय नाशका निम्ति १७ पाठ, बन्धनबाट मुक्तिका निम्ति बीस पाठ आदिको विधान धर्मसिन्धुमा बताइएको छ । काम्यपाठमा सङ्कल्प र बलिदानलाई अनिवार्य मानिएको छ ।
दुर्गासप्तशतीमा के छ ?
दुर्गासप्तशती दुर्गा देवीको महिमा गाथा हो । सप्तशतीका प्रत्येक श्लोक मन्त्ररूप मानिन्छन् । असुर राक्षसी प्रवृत्तिको अन्त्य गरी समस्त लोकमा सुख शान्ति प्रदान गरेको प्रसङ्ग यहाँ वर्णन गरिएको छ । मार्कण्डेय पुराण अन्तर्गतको देवी माहात्म्य नै वास्तबमा दुर्गा सप्तशती हो । प्रथम अध्यायमा भगवतीको महिमा सहित मधु र कैटभ नामका दैत्यको बध गरेको कथा छ । देवताको तेजबाट देवीको प्रादुर्भावका साथै महिषासुरका सेनाको बध प्रसङ्ग दोस्रो अध्यायमा वर्णन गरिएको छ । तेस्रो अध्यायमा महिषसुरको बध, चौथो अध्याया इन्द्रादि देवताहरूद्वारा देवीको स्तुति छ । पाँचँै अध्यायमा देवताद्वारा भगवतीको स्तुतिका साथै चण्ड र मुण्डबाट अम्बिका देवीको प्रशंसा सुनी शुम्भद्वारा देवीलाई दूत पठाएको कथा छ । छैटाँै अध्यायमा धुम्रलोचनको बध, सातौँ अध्यायमा चण्ड र मुण्डको बध,आठौँ अध्यायमा रक्तबीजको बध,नवौ अध्यायमा निशुम्भ बध, दशौँ अध्यायमा शुम्भ बध, एघारौँ अध्यायमा देवताद्वारा दुर्गा देवीको स्तुति गान र भगवतीद्वारा देवतालाई वरदान को कथा छ । बाह्रौँ अध्यायमा देवी चरित्र पाठ र श्रवणको महŒव वर्णन गरिएको छ । यसैगरी तेह्रौँ अध्यायमा सुरथ र वैश्यलाई देवीले वरदान दिएको कथा उल्लेख पाइन्छ ।
दुर्गा देवीको उपासना र फल
नवरात्रमा भगवती दुर्गा देवीको उपासना गरिन्छ । जगज्जननी माता दुर्गा देवीको उपासनाले धर्म, अर्थ काम र मोक्ष चार प्रकारका पुरुषार्थ सिद्धि प्राप्त हुन्छ । जुन कामना सहित भगवती देवीको उपासना ग¥यो सो पूरा हुने कुरा देवी कवचको ‘यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम्’ (दुर्गासप्तशती, देव्याः कवचम्, श्लो. ४४) भन्ने श्लोकबाट पनि पुष्टि हुन आउँछ । आदि शक्ति दुर्गा देवीको उत्पत्ति एवं माहात्म्यको कथा वेदव्यास रचित मार्कण्डेय पुराणमा उल्लेख छ । यसैगरी नवरात्रमा देवीभागवत् पाठ पारायण पनि हुने गर्दछ । देवीभागवतमा पनि भगवतीको महिमागान गरिएको छ ।
देवीको पूजा गर्दा महालक्ष्मीलाई बीचमा राखी उनको दायाँ र बायाँ क्रमशः महाकाली र महासरस्वतीलाई विराजमान गराइन्छ । महालक्ष्मीका पछाडि सरस्वतीका साथ ब्रह्माको, महालक्ष्मीको दक्षिण भागमा गौरीका साथ शिवजीको र महालक्ष्मीको वायाँ भागमा लक्ष्मी सहित विष्णुको पूजा गरिन्छ । अठार भुजावाली महिषासुरमर्दिनी महालक्ष्मी नै विशेष रूपमा पूजनीय छन् । किनकि उनैलाई महाकाली महालक्ष्मी र महासरस्वती भनिएको हो भन्ने कुरा सप्तशतीको वैकृतिक रहस्यमा उल्लेख पाइन्छ । ती महालक्ष्मी नै सम्पूर्ण लोककी माहेश्वरी हुन् । देवीको विशेष विधानपूर्वक पूजा गरिसकेपछि देवीको ध्यानपूर्वक स्तुति गरी देवी माहात्म्यको पाठ गर्नु पर्दर्छ । पाठ पश्चात् सप्तशतीका मन्त्रले हवन गर्नु पर्ने विधान वैकृतिक रहस्यमा उल्लेख छ ।
जसले एकाग्र चित्त भएर प्रतिदिन देवीको स्तुति गर्दछ उसका सारा बाधा निश्चय नै हटेर जानेछन् । अष्टमी, चतुर्दशी र नवमीमा देवीको विशेष स्तुति पाठ गर्नाले सारा पाप नष्ट हुनेछन् । देवी माहात्म्य सुन्नाले मात्रै पनि सवै प्रकारका भय नाश हुन्छन् । दुर्गा सप्तशती परं कल्याणकारी भएकाले दुर्गा पाठद्वारा महामारी जनित समस्त उपद्रव तथा आध्यात्मिक, आधिभौतिक र आधिदैविक ताप नष्ट भएर जान्छन् भन्ने कुरा देवी माहात्म्यमा बताइएको छ । यसैगरी बलि दान, पूजा, होम तथा विभिन्न महोत्सवका अवसरमा देवीको पूजा पाठ एवं माहात्म्य श्रवण गर्नु भन्ने विधान पनि दुर्गा सप्तशतीमा पाइन्छ (दुर्गासप्तशती, १२।१०) । यसै आधारलाई नै शिरोधार्य गरेर बडा दशँै मनाउने प्रचलन रहेको हो । शरद ऋतुको नवरात्रमा भक्तिपूर्वक दुर्गा देवीको उपासना एवं महात्म्य श्रवण गर्नाले सम्पूर्ण बाधाबाट मुक्त हुनुका सथै धन, धान्य, पुत्र पौत्रादि अभिवृद्धि हुन्छन् । खराब सपना देखे, ग्रह जनित भयंकर पीडा भए देवीको महात्म्य श्रवण गर्नु पर्दछ । विशेष गरी बालबालिकामा परेको ग्रहजन्य दोष पनि दुर्गासप्तशतीको पाठ आराधनाले नष्ट भएर जान्छ । देवी माहात्म्यको पाठ मात्र गर्नाले पनि भूत, प्रेत पिशाच आदि नष्ट भएर जान्छन् । दुर्गादेवीको पूजा अर्चना, स्तुति पाठ, माहात्म्य श्रवण गर्नाले यो लोकको भुक्ति हुनुका साथै परलोकमा पनि मुक्ति प्राप्त हुने कुरा देवी माहात्म्यमा उल्लेख छ ।
शरद कालीन नवरात्र र वसन्त कालीन नवरात्रमा देवीको उपासना गर्नाले अभीष्ट सिद्धि हुन्छ । यसैगरी गुप्त नवरात्रमा देवीको स्तवन गरेमा मनोवाञ्छित फल प्राप्त हुने कुरा शास्त्रमा उल्लेख पाइन्छ । दुर्गा कवच, कीलक र अर्गला स्तोत्र नित्य पाठ गर्नाले पनि दुर्गा पाठ बराबरको फल प्राप्त हुन्छ । समस्त पापबाट बाँच्न देव्याथर्वशीर्ष पाठ गर्नु पर्दछ । यसैगरी मन्त्र सिद्धिका लागि कुञ्जिका स्तोत्र पाठ पनि नवरात्रमा गर्नु गराउनु उपयुक्त मानिन्छ ।
भगवती देवी सम्पूर्ण मनोकामना सिद्ध गर्ने आद्य शक्ति हुन् । विधिपूर्वक देवीको आराधना नगरे फल प्राप्त नहुने भएकाले विधि विधानलाई विशेष ध्यान दिनु आवश्यक हुन्छ । दुर्गा देवीले हामी सबैको कल्याण गरुन् । जय दुर्गे !
जय दुर्गा भवानीको माता कि जय
ReplyDeleteप्रणाम गुरु जि
यो चण्डी पाठ मष्टा देवता को मन्दिर मा गर्न हुन्छ कि हुँदैन