आज धान्यपूर्णिमा, उधौलीपर्व महिमासहित हेर्नुहोस् आजको दिन २०७७ पौष १५ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Dec 29, 2020

आज धान्यपूर्णिमा, उधौलीपर्व महिमासहित हेर्नुहोस् आजको दिन २०७७ पौष १५ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल पौष महिनाको १५ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत डिसेम्बर महिनाको ३० तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


 सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत मार्गशीर्ष शुक्लपक्षको  पूर्णिमा तिथि  बिहान ८।४५  बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् ।  आद्र्रा नक्षत्र बेलुका ७।१९ बजेसम्म रहनेछन् । यसैगरी आज ब्रह्म  योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ६।५६ मा छ भने सूर्यास्त बेलुका ५।१७ बजे हुनेछ । चन्द्रमा आज मिथुन  राशिमा रहेका   छन् ।  


आज धान्यपूर्णिमा हो । मंसिरको शुक्लपूर्णिमालाई धान्यपूर्णिमा भनिन्छ । 


 मार्गशुक्ल पूर्णिमालाई  धान्यपूर्णिमा भनिन्छ।  यसदिन  खासगरी   धन्य दान गरिन्छ। नयाँ धान पाकेपछि यस दिन  पर्वत जस्तो धानको थुप्रोको आकृति बनाएर  धान्याचल वा धान्यपर्वत दान गर्ने विधान र परम्परा छ।    धान्य भनेको  अन्न हो ।  अद्यते  . भक्षते  इति अन्नं  भनिएको  छ । जे खाइन्छ त्यो सबै  अन्न हो ,   मुख्य रूपमा  खाने   वस्तु धान नै  भएको हुँदा  धानलाई  प्रमुख  अन्न  मानिएको हो। अन्नदान भनेको प्राणदान हो।  किन विना हाम्रो अस्तित्व रहनसक्दैन । पुराणशास्त्रमा भनिएको पनि छः   

कृते त्वस्थिगताः प्राणास्त्रेतायां मांसमिश्रिताः।

 द्वापरे  रुधिरे प्राहुः  कलावन्नगताः स्मृताः।। 

अर्थात्   सत्ययुगमा मानिसको प्राण अस्थि अर्थात् हड्डीमा  अडिन्थ्यो  भने  त्रेतायुगमा  हाड र  मासुमा  अडिन्थ्यो, अनि द्वापर युगमा  रक्तमा अडिन्थ्यो  भने  कलियुगमा  अन्नमा प्राण अडिएको हुन्छ। त्यसैले  कलियुगमा अन्न खान नपाएमा  मानिस धेरै समय सम्म  बाँच्न  सक्दैनन्। त्यसै कारणले  अन्नदानलाई  प्राणदान  भनिएको हो। तैत्तिरीयोपनिषद्मा पनि अन्नको महिमा यसरी गाइएको छः 


अन्नात् पुरुषः, अन्नाद्वै  प्रजाः प्रजायन्ते, अन्नं ब्रह्मेति व्यजनात् ,  अन्नादेव  खल्विमानि भूतानि जायन्ते, अन्नेन जातानि जीवन्ति, अन्नं प्रयन्त्यभिसंविशन्तीति ।।  

  अर्थात्  अन्नबाट  पुरुष वा प्राणीको उत्पत्पत्ति हुन्छ, अन्न नै  ब्रह्म हो, अन्नबाट नै चराचर जीवको  उत्पत्पत्ति हुन्छ , अन्नबाट  नै  प्राणीहरू बाँच्तछन् , जीवहरू  अन्नमै  प्रवेश  गरेका हुन्छन् ।  यसैले  प्रमुख अन्न धान्य दान गर्दा  ठुलो पुण्य प्राप्त् हुने भएकाले यसदिन धान्यदान गर्ने  प्रचलन  चलेको हो।  

  श्रीद्भगवद्गीतामा  भनिएको छः 

सहयज्ञाः प्रजाः सृष्ट्वा  पुरोवाच प्रजापतिः। 

अनेन प्रसविष्यध्वमेष वो ऽ स्त्विष्टकामधुक् ।। ३।१०।

 देवान्  भावयतानेन  ते देवा भावयन्तु वः। 

परस्परं भावयन्तः श्रेयः परमवाप्स्यथ।। ११।।

 इष्टान् भोगान्  हि वो देवा दास्यन्ते यज्ञभाविताः।

 तैर्दत्तानप्रदायैभ्यो  यो भुङ्क्ते स्तेन एव सः।। १२ ।।

यज्ञशिष्टाशिनः सन्तो  मुच्यन्ते सर्वकिल्वषैः। 

भुञ्जते  ते त्वघं पापा  ये पचन्त्यात्मकारणात्।।१३।। 

अन्नाद्भवन्ति भूतानि  पर्जन्यादन्नसम्भवः । 

यज्ञाद्भवति पर्जन्यो यज्ञःकर्मसमुद्भवः।।१४

  गीता अध्याय  ३।१०–१४श्लो

 अर्थात् प्रजापति परमेश्वरले प्रजाको सृष्टिगर्दा  तिनको  भरण पोषणमा सहयोग पुर्याउन  यज्ञ पनि सँगै सृष्टि गरेका थिए। किन भने  प्राणीहरूले आफ्नो अभीष्ट  यज्ञद्वारा नै  पूरा गर्न सकून् भनेर । अन्नबाट प्राणीको उत्पत्ति हुन्छ ,  वर्षा (पानी) बाट  अन्न उत्पत्ति हुन्छ, भने यज्ञबाट   वृष्टि वा वर्षा हुन्छ।    फेरि वर्षाबाट  अन्न, अन्नबाट  यज्ञ   यसरी परस्परमा सहयोग  भैरहन्छन् । अतः  नयाँ अन्न उत्पादन  भएपछि त्यो अन्न देवतालाई  दिएर मात्र खानुपर्दछ। त्यसैले  न्वागी खाने  पनि परम्परा चलेको हो। देवता भनेका  ब्राम्हण पनि हुन् । किन भने  ब्राह्मणलाई भूदेव भनिन्छ। त्यसैले  यज्ञ गरी  हवन गरेर देवतालाई दिइन्छ भने  दान गरेर ब्राह्मणलाई दिइन्छ। 

   यसै शास्त्रको  आधारमा  धान्य पूर्णिमाका दिन  धान्यदान, धान्याचल दान गर्ने  परम्परा चलेको हो। 

   यस दिन कतिपय मानिसहरूले   गोठमा  गोष्ठदेवता वा  गैडुदेवताको पूजा गर्ने चलन छ, भने कतिपयले  कुलदेवताको पूजा गर्ने   चलन  छ  ।  राई समुदायमा यसदिनलाई  उँधौली पर्वको रूपमा मनाइन्छ ।   काठमाडौँ उपत्यकामा  योमरीपुन्हि  भनेर  मनाउने परम्परा छ।  

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 


No comments:

Post a Comment