श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल पौष महिनाको १० गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत डिसेम्बर महिनाको २५ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत मार्गशीर्ष शुक्लपक्षको एकादशी तिथि राति २।८ बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । अश्विनी नक्षत्र बिहान ८।४५ बजेसम्म रहनेछन् । यसैगरी आज शिव योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ६।५४ मा छ भने सूर्यास्त बेलुका ५।१४ बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा रहेका छन् ।
आज आज मोक्षदा एकादशीव्रत परेको छ । मार्गशीर्ष शुक्लपक्षको एकादशीलाई मोक्षदा भनिन्छ । आज एकादशीको व्रत धारण गर्नाले मोक्ष प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । यसैगरी आज गीताजयन्ती पनि हो ।
आज तुलसीको मञ्जरी, धूप, दीप आदि वस्तुले दामोदर भगवान्को पूजा शुभ रहनेछ । यसैगरी उपवास वसेर हरिको नाम संकीर्तन, पनि शुभ रहनेछ ।
मार्गशीर्ष शुक्ल एकादशीका दिन कुरुक्षेत्रमा भगवान् श्रीकृष्णले अर्जुनलाई श्रीमद्भगवद्गीताको उपदेश गर्नु भएको थियो । अतः यो तिथि गीता जयन्तीका नामले पनि चिनिन्छ । आज श्रीमद्भगवद्गीतापाठको अनुष्ठान शुभ रहन्छ । गीता कर्मयोग हो । जहाँ कर्मको गीत गाइएको छ ।
कथा –
पद्मपुराणमा भगवान श्रीकृष्णले धर्मराज युधिष्ठिलाई गीताको महिमागना गर्नुभएको प्रसङ्गपनि आज स्मरणीय छ । भारतवर्षमा एकजना वैखानस नाम गरेका प्रजापालक राजा थिए । उनको राज्यमा सुख र शान्तिको वहार थियो । योगी, सन्यासी, मुनि, सिद्ध, सन्त सबै भयरहित वतावरणमा आ–आफ्ना कार्य सम्पादन गर्दथे । एकरात वैखानस राजाले सपनामा आफ्ना पिता नर्कको यातना भोगिरहेको दृश्य देखे । राजा आफ्ना पिताको त्यो अवस्था देखेर छट्पटिए र रातभरि निदाउन सकेनन् । बिहान हुनासाथ उनले विद्वत् सम्मेलन गरेर जेजस्तो स्वप्नमा देखेका थिए ती सबै विवरण सुनाए ।
राजाका कुरा सुनेर विद्वान्हरूले उनलाई त्रिकालदर्शी ऋषि पर्वतसमक्ष जाने सल्लाह दिए । वैखानस राजा ऋषि पर्वतका कुटीमा पुगे र विनम्रता पूर्वक आफ्नो समस्या बताए । राजाको अधीरता र छट्पटीलाई देखेर महाज्ञानी पर्वतले उनलाई भने – हजुरका पिता आफ्नो एउटा गल्तीको सजाय भोग्दै हुनुहुन्छ । उनलाई नरकबाट मुक्त बनाउन हजुरले मार्गशीर्ष शुक्ल पक्षको एकादशी अर्थात् मोक्षदा एकदशीको व्रत लिई यस एकादशीको पुण्य हजुरले आफ्ना पितालाई समर्पण गर्नुपर्दछ अनि तपाईका पिता नर्कबाट मुक्त हुनु हुनेछ ।
यस्तो कुरा सुनेपछि ऋषि पर्वतको आज्ञा अनुसार वैखानस राजाले विधिपूर्वक मोक्षदा एकादशीको व्रत गरे र प्राप्त पुण्य पिताजीलाई अर्पित गरिदिए । राजा वैखानसको पुण्यका प्रभावले उनका पिताले मोक्षत्व प्राप्त गरे । अतः आज आफ्ना नरकमा परेका पितृको उद्धारका निम्ति पनि एकादशीको व्रत उत्तम रहने कुरा पद्म पुराणमा साक्षात् श्रीकृष्ण भगवान्ले बताउनुभएको छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment